शिक्षा राज्यमन्त्रीलाई स्वागत तथा छलफल

चितवन क्षेत्र नं २ का सांसद माननीय शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री जस्तो गरिमामय एंव जिम्मेवार पदमा नियुक्त हुनुभएकोमा रत्ननगर उद्योग वाणिज्य संघले उहाँको सम्मानमा गत भाद्र १३ गते स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उहाँले पूर्वी चितवनलाई शैक्षिक हव बनाउनुपर्ने धारणा गर्नुभएको थियो । साथै यस क्षेत्रमा प्राविधिक शिक्षालयको आवश्यकता रहेको बताउँदै सोको विशेष पहल गर्न अपिल गर्नुभएको थियो । पूर्वी चितवन विकासका लागि शक्तिखोर हुग्दी टनेल बनाएर सिंचाई व्यवस्था मिलाउनुका साथै सोही क्षेत्र हुंदै राजमार्ग निर्माण गराउनका लागि पहल गर्न ध्यानाकर्षण गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले यस क्षेत्रको शैक्षिक क्षेत्रमा राजनैतिक हावी हुदै गएको जानकारी दिदैं शैक्षिक अवस्था र गुणस्तरलाई सुधार गर्न विशेष पहल गर्न आग्रह गर्नुभएको थियो । पूर्वी चितवन क्षेत्र कुनै पनि नर्सिङ, ईन्जिनियरिङ शैक्षिक संस्था नभएको अवस्थामा सो सम्बन्धी पढाईको पनि व्यवस्था समेत गर्न सुझाउनु भएको थियो । यसै गरि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले स्थानिय तह कार्यान्वयन भएकाले शिक्षाको समस्या यहीबाट समाधान हुने बताउँदै माध्यामिक तहभन्दा माथिको शैक्षिक गुणस्तर बृद्धिका लागि आफू प्रयासरत गर्ने बताउनुभएको थियो । आफु यसै क्षेत्रको भएकाले यस क्षेत्रको विकासका लागि शिक्षालाई मात्रै केन्द्रित नभई सबै क्षेत्रलाई विशेष प्राथमिकता राखी कार्य गर्ने बताउनुभएको थियो । प्रदेश र संघीय चुनावपछि राजनितिक संक्रमण अन्त्य हुने हुंदा अव समृद्धिको बाटोमा लाग्नुपर्ने कुरामा जोड दिंदै पूर्वी चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएकोले यसलाई मध्यनजर गर्दै रत्ननगर, शक्तिखोर हुंदै हुग्दी सडक निर्माण गर्न ५ करोड विनियोजन गरेर काम सुरु भईसकेको जानकारी दिंदै मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा पूर्वि चितवनमा शैक्षिक क्षेत्रको उचित व्यवस्थापन, यहाँ रहेका समस्याहरु एंव यसका समाधानका विषयमा उपस्थितहरुद्वारा खुल्ला छलफल गरिएको थियो ।संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत समितिका अध्यक्ष एंव सदस्यहरु, विभिन्न शैक्षिक संस्थाका प्रमुखहरु लगायत उपस्थित कार्यक्रममा संघका उपाध्यक्ष रघुनाथ भट्टले स्थानीय पब्लिक क्याम्पसहरुलाई दिर्घकालिन कार्य योजना तयार गरि दिगो रुपमा चलाउन सक्ने गरि सहयोग गर्न अनुरोध गर्दै धन्यवाद मन्तव्य राख्नुभएको थियो ।