जिल्ला समन्वय समितिका सभापतिलाई स्वागत

रत्ननगर उद्योग वाणिज्य संघद्वारा २०७४ कात्र्तिक ५ गते जिल्ला समन्वय समितिका सभापति कृष्ण कुमार डल्लाकोटीको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मी र निवर्तमान अध्यक्ष ज्ञान बहादुर विसुराल लगायतले जि.स.स. सभापति कृष्ण कुमार डल्लाकोटीलाई फूल माला सहित दोसल्लाले स्वागत सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले हुग्दीबाट टनेल निर्माण गरेर पूर्वी चितवन क्षेत्रमा सिंचाईको व्यवस्था मिलाउनको लागि पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभएको थियो । यसै गरि संघका निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुरालले लामो समयदेखी पुर्वी चितवन विकासमा ओझेल परेको बताउँदै यहाँको विकासमा समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला सभापति समक्ष आग्रह गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले रत्ननगर महोत्सव स्थल हुने टिकौली चौरलाई प्रर्दशनी स्थल घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले समग्र चितवनको विकासमा भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । पूर्वी चितवनलाई हेर्ने दृष्टिकोणमा केही फरक रहेको बताउँदै उहाँले जिल्लाको प्रतिनिधित्व गर्ने भएको हुँदा समग्र चितवनको विकासमा ध्यान केन्द्रित राख्ने धारण व्यक्त गर्नुभएको थियो । विगतमा पनि जिल्ला विकास समिति चितवनबाट रत्ननगर महोत्सवलाई सहयोग भएको उल्लेख गर्दै सभापति डल्लाकोटीले यही पुष अन्तिम साता हुने महोत्सवलाई पहिलेको भन्दै अझ वढि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रम महासचिव निराजन खनालले संचालन गर्नुभएको थियो ।